विश्वकप छनोट : नेपाल यमनसँग बराबरीमा रोकियो

काठमाडौं ।  नेपाल फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा अन्तिम मिनेटमा सम्हालिन नसक्दा यमनविरुद्ध नेपाल २–२ को बराबरीमा रोकिएको हो ।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले एक–एक गोल गरे । उनीहरूको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो ।​ नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले रमी अल–वासमानीमाथि फउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए ।

त्यसपछि नेपालका लागि २३औं मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । ​६६औं मिनेटमा नेपालले खेलमा अग्रता लियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भयो । तर, इन्जुरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल–दाहीको गोलमार्फत बराबरी गर्दै एक अंक लिन सफल भयो ।

नेपालले यस खेलअघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर, नेपालले अन्तिम खेलमा २ गोल गर्न सफल भयो । नेपालले समूहमा ६ खेलमा एक अंकसहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर