एसइईको नतिजा असारको दोस्रो साताभित्र सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले तयार पारिएको कार्य योजनाअनुसार उत्तर पुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।

उनले कार्य योजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्नेगरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । उनले भने, “हामीले उत्तरपुस्तिका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्ने र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ ।

कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उनले भने । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तर पुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए । गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यस वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनैपर्ने अन्यथा फेल भएसरह मानिने उनले बताए । गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर