छुट्टाछुट्टै दुर्घटनामा दुई प्रहरीसहित पाँचजनाको मृत्यु

काठमाडौं । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-५, बर्दियाका २७ वर्षीय सौगात बिक, बराहताल गाउँपालिका-५, सुर्खेतका १९ वर्षीय जित बहादुर कार्की र गुर्भाकोट नगरपालिका-८ मेहेलकुना सुर्खेतका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

सो दुर्घटनामा बाँफिकोट गाउँपालिका-४, का १७ वर्षीय सुजन बिक, ठाकुरबाबा नगरपालिका–५, बर्दियाका २६ वर्षीय दिलिप थापा र सोही वडाका २७ वर्षीय टिकाराम खनाल घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीको भनाइ छ ।

मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिकाको छिनखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ-बालुवा सडकखण्ड अन्तर्गत गिल्वाङ नजिकै दुर्घटना भएको हो । इन्टरनेट सेवा प्रदायक फाइबर नेट वर्ल्डलिंकको उक्त सानो गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको बताइएको छ ।

यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका ५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल आइतबार अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर