टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, दक्षिण अफ्रिका विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १०४ रनको विजय लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले ५९ रन बनाए। ट्रिस्टन स्टब्सले ३३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा र लोगान भ्यान बेकले समान २-२ विकेट हात पारे। बास डे लीडेले एक विकेट लिए।
त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए। विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए। लोगान भ्यान बेकले २३ रन जोडे । दक्षिण अफ्रिकाका लागि ओटनेल बार्टमनले ४ विकेट लिए । त्यस्तै मार्को यान्सेन र एनरिक नोर्टजेले २/२ विकेट लिए।
टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै
टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज राती सवा ८ बजे हुने छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा यी दुई प्रतिष्पर्धी आमने सामने हुन लागेका हुन् । यी दुई मुलुकबीचको खेललाई विश्वभर चासोका साथ हेर्ने गरिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जीत हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तान भने सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।