ओलीको दृष्टिकोणमा विपक्षीदल असभ्य राजनीति गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभ्य राजनीति गर्न विपक्षी दललाई अनुरोध गरेका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनेले अनावश्यक रूपमा विवादमा तान्न विपक्षी दलले प्रयास गरेको भन्दै सभ्य रूपमा राजनीति गर्न अनुरोध गरे ।
झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा संलग्नताको विषयमा पत्रकारले सोधेको जवाफमा अध्यक्ष ओलीले स्पष्ट जवाफ दिन चाहेनन् । अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै गठबन्धन कुनै पनि हालतमा नभत्किने दाबी पनि गरे । उनले भने, “गठबन्धन भत्कँदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”

उनले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देशको प्रधानमन्त्री जाने परम्परा पुरानो भएको बताउँदै आफू प्रधानमन्त्री हुँदासमेत गएको, सुशील कोइराला पनि गएको स्मरण गराए । सरकारको बजेट अझ राम्रो हुनुपर्छ, कार्यान्वयनको पक्ष बलियो हुनुपर्छ भन्ने धारणा एमालेको रहेको उनले उल्ल्ेख गरे । बजेटका विषयमा अनेक टिप्पणी विपक्षीले गरेको र एमालेले आलोचना गरेको भनी प्रचार भएकोमा उनले भने, “थप राम्रो बनाउनुपर्छ, परिमार्जन गर्न सक्ने ठाउँमा परिमार्जन गर्नुपर्छ भन्ने सुझाव नराम्रो हो र ?”

अध्यक्ष ओलीले राजदूत फिर्ता बोलाउनु सरकारको नियमित कार्यक्रम भएको र यसमा आफ्नो कुनै टिप्पणी नभएको बताए । उनले शिक्षामन्त्रीको विषयमा आफूले कुनै टिप्पणी नगरेको र आफूले राखेको धारणा कसैसँग मेल खाएको हुन सक्ने बताए । एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर