मेलम्चीवासीलाई दुःख नदिन पानी निरन्तर लैजान आग्रह

काठमाडौं । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा मेलम्ची खानेपानी आयोजनालाई पानी निरन्तर रूपमा लैजान आग्रह गरिएको छ। आज बुधबार यनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरुङमा प्रवेश गराइएको पानी वर्षायाममा पनि निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन अपिल गरेका छन् ।

‘सुरुङमा प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढीपीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौं, हाम्रो आग्रह, अनुरोध र अपिललाई कमजोरी ठान्दै जबर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा स्थानीय संघर्ष समिति, राजनीतिक दलले लामो समयदेखी उठाउँदै आएका मागको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने व्यहोरा यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
मेलम्ची खानेपानी संघर्ष समितिका अध्यक्ष पासाङ लामा, सचिव छिरिङ ग्याल्बु लामा, नेपाली काँग्रेस, हेलम्बु गाउँपालिका समितिका सभापति राजकुमार भण्डारी, नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटीका अध्यक्ष बेनबहादुर पण्डित, नेकपा माओवादी केन्द्र हेलम्बु गाउँपालिका कमिटीका अध्यक्ष मोदनाथ भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी हेलम्बु गाउँपालिका समितिका प्रतिनिधि रामबाबु सापकोटाले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा काकाकूल काठमाडौको प्यास मेटाउने यस क्षेत्रको समस्यामा राज्य संवेदनशील नभएको आरोप लगाइएको छ ।

‘यस वर्षको मनसुन सन्मुखमा छ। तटीय क्षेत्रका नागरिक शारीरिक, मानसिक र अन्य हिसाबले आउने वर्षायाम र त्यसले उत्पन्न हुने जोखिमको त्रासदीमा बाँच्नुपर्ने परिस्थितिको आँकलन गर्न बाध्य देखिन्छ’, उनीहरुले भनेका छन्, ‘हेलम्बु क्षेत्रको पर्यावरण, प्रकृति र मानव जीवनसँग परोक्ष सम्बन्ध राख्ने सिंगै मेलम्ची नदी काकाकुल काठमाडौंमा पठाउन र उपत्यकाका नागरिकको प्यास मेटाउन तयार भएका नागरिकको जीवन र पीडासँग एकाकार हुनुपर्नेमा राज्य संयन्त्रमा संवेदनशीलताको आभास पटक्कै देखिएको छैन। राज्यको यसखालको व्यवहार र संवेदनाहिनताले हामी अत्यन्तै चिन्तित र गम्भीर छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर