भारतमा मोदीको “अब कि बार-चार सौ कि पार” लक्ष्यनिकट

काठमाडौं । भारतमा लोकसभाका लागि आमचुनाव शनिबार सम्पन्न भएलगत्तै भारतीय सञ्चारमाध्यमहरूले एक्जिट पोलका अनुमानहरू प्रकाशन र प्रसारित गर्न थालेका छन् । विश्वकै सबैभन्दा ठूलो तथा लामो आमचुनाव भारतमा सम्पन्न भएको जनाउँदै ती सञ्चारमाध्यमहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ देखि ४०१ सिट जित्ने आँकलन गरेको छ। अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन्। एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट जित्ने अनुमान गरेको छ ।

इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आँकलन गरेको छ। रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ। जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ। पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ। ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ। तर भारतीय चुनाव आयोगले जुन ४ तारिखदेखि मात्रै आधिकारिक मतगणना गर्ने जनाएको छ ।

एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन्। स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन। शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर