बाल संगठन जग्गा हिनामिनाः गणेशमान पुत्री रीतासिंह वैद्य पक्राउ पर्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणसँग जोडिएकाहरूलाई हिरासतमा लिने तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले सीआईबीलाई बिहीबार जग्गा हिनामिना प्रकरणमा जोडिएका २० जनालाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतले जारी गरेको पक्राउ पुर्जीअनुसार सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ। त्यस्तै, बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीले बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। बाल संगठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरिएको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय गरेका थिए।
२०४८ सालमा रीता सिंह वैद्य बाल संगठनको अध्यक्ष बनेपछि नै जग्गा लिजमा दिने चलखेल शुरू भएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीतालाई राजनीतिक नियुक्तिबाट बाल संगठनको अध्यक्ष बनाइएको थियो। उनी २०७७ सालसम्म बाल संगठनमा निरन्तर अध्यक्ष रहिन्। बाल संगठन र बृहस्पति स्कुलबीच २०४९ माघ २७ गते पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा संगठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका थिए।

(गणेशमान पुत्री रिता सिंह बैद्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर