कसैको दबाबमा परेर करको दर हेरफेर भएको छैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कसैको दबाबमा परेर करको दर हेरफेर नगरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटबारे बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौ ।” आगामी आवको बजेट सन्तुलित भएको समेत दाबी उनले गरे । “बजेट सन्तुलित आएको छ । शिथिल अर्थतन्त्रलाई सुधार गर्ने गरेर बजेट ल्याएका छौँ”, उनले भने, “व्यवसायी, उद्यमीहरुमा आशा जगाउने प्रयत्न गरेका छौँ।”

अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने बताउँदै उनले अगाडि भने, “युवाहरुमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्छ । सधैँ अरूलाई दोष दिएर मात्र हुँदैन । अब नयाँ चरणको अर्थतन्त्र सुरु गर्नुपर्छ । त्यसका लागि हामी उच्चस्तरीय आयोग गठन गर्ने तयारीमा छौँ ।”
यसैगरी उनले आलु, प्याज र स्याउ आयातमा लगाइएको भ्याट शुल्क खारेजीको बचाउ गरेका छन् । खासगरी स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र आयातित वस्तुको मूल्य भ्याटले थप मूल्य वृद्धि हुँदा उपभोक्तामा मार पर्ने देखिएकोले आर्थिक विधेयकमार्फत भ्याट हटाइएको उनले बताए ।
अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता पनि जनाएका छन् । ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’ आम सहकारीका बचतकर्ता चिन्तित हुनु नपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर