नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाही गरिनुपर्ने : नेता बस्नेत
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार उनले नक्कली शरणार्थी प्रकरणमात्र नभई नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
नेता बस्नेतले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु ,बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नु पर्दछ ।’
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी त्यस्तै एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसंगै बस्नेतले यस्तो स्टाटस लेख्नुभएको थियो ।