चुरे संरक्षणको माग गर्दै माइतीघर मण्डलामा धर्ना

काठमाडौं । चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पदयात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पदयात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो ।

टोलीले माइतीघर मण्डलामा धर्ना दिन पनि सुरु गरेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ब्यानरमा उनीहरू धर्नामा बसेका हुन् । चुरे क्षेत्रको वनजङ्गल विनाशको कारणले तराई, मधेशमा नदी सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिङ्गो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ ।
पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन् तत्काल बन्द गर्नुपर्नेलगायतका एक दर्जनभन्दा बढी मागहरू राखेका छन् । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनील यादवले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरूको मुख्य माग रहेको बताए । उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलका कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए । उनले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर