आज देशभर भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती मनाइँदै

काठमाडौं । आज देशभर भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापना र मानवमात्रको मोक्षका लागि देखाएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति अगाढ श्रद्धा र भक्ति प्रदर्शन गर्ने गरिन्छ । आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजाआजा गर्ने गरिन्छ । आम सर्वसाधारणलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर