गर्मी बढेपछि कैदीबन्दी अन्यत्र स्थानान्तरण

काठमाडौं ।  चितवन जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । “क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाई, खानपानलगायत कुरामा विशेष ध्यान दिन भनेका छौँ”, आचार्यले भने, “यो समयमा लामखुट्टेको टोकाईबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाई गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ ।”

कैदीबन्दी भेट्न आउने आफन्तलाईसमेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए ।

भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उनले जानकारी दिए । दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना, उनीहरुसँग आश्रित दुई बालबालिका र दुई सय ५५ क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९५ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर