अभिनेत्री छिरिङले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौं । अभिनेत्री छिरिङ शेर्पाले मंगलबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नाराका साथ सगरमाथा आरोहण गरेकी हुन् ।

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको आरोहण सफल भएपछि उनले भनिन्, ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गरेकी हुँ ।’

शेर्पा जातिलाई हिमाल आरोही समुदायको रुपमा मात्र व्याख्या नगरेर संविधानअनुरुप प्राप्त हुनु पर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण सिर्जना गर्न उनको माग छ । साथै, सगरमाथाबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा हिमाली क्षेत्रमा लगानी गर्नु पर्ने कार्यविधि निर्माण गर्न पनि उनको आग्रह छ । छिरिङले पासाङ ल्हामु फाउन्डेसनबाट हिमाल चढेकी हुन् ।

दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै छिन् । फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन् । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।

अभिनेत्री छिरिङले यसअघि सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएर राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदीश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’को रेकर्ड राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर