ज्याक फ्रेजर र म्याथ्यु सर्ट अस्ट्रेलियाली टोलीमा

काठमाडौँ। अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुने आईसीसी टी–२० विश्वकपका लागि ज्याक फ्रेजर म्याकगर्क र म्याथ्यु सर्टलाई अस्ट्रेलियाली टोलीमा समेटिएको छ। उनीहरूलाई रिजर्भ खेलाडीको रूपमा टोलीमा समेटिएको हो।
२२ वर्षीय म्याकगर्कले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। यद्यपि, टी–२० अन्तर्राष्ट्रियमा डेब्यूको प्रतीक्षामा रहेका म्याकगर्कलाई टी–२० विश्वकप टोलीमा समावेश गरिएको थिएन।
अलराउन्डर सर्टले अस्ट्रेलियाका लागि पछिल्ला १४ टी–२० मध्ये ९ खेल खेलेका छन्। यीमध्ये ५ मा उनले इनिङ्सको ओपनिङ गरेका थिए भने पछिल्ला दुई सिजनमा उनले बिग बास लिग पनि खेलेका छन्।
अस्ट्रेलियाको टोली बिहीबार वेस्ट इन्डिज प्रस्थान गर्नेछ। अस्ट्रेलियाले नामिबिया र वेष्ट इन्डिजविरुद्ध २८ र ३० मेमा ट्रिनिडाडमा दुई अभ्यास खेल खेल्ने छ। अस्ट्रेलियाले ५ जुन मा बार्बाडोसमा ओमानसँग खेल्दै विश्वकपको शुरूआत गर्ने छ।