ख्वप–तिलगंगा आँखा अस्पतालको नयाँ भवनबाट सेवा शुभारम्भ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज ख्वप–तिलगंगा आँखाको नयाँ भवनबाट सेवा प्रदान गरिने कार्यको शुभारम्भ  गरेका छन् ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भवनको चौथो तल्लामा ख्वप-तिलगंगा आँखा अस्पताल रहेको छ ।

उद्घाटन समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा यसले पुर्‍याएको योगदान उल्लेखनीय भएको बताए । भक्तपुर नगरपालिकालले नगरवासीहरुको मात्र नभई देशकै जनतालाई आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताउँदै उनले आँखा अस्पतालबाट गरिब जनताको निःस्वार्थ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष बिजुक्छेँले अस्पतालबाट प्रवाह हुने सेवाबाट व्यापक जनताको हित हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा सेवा प्रवाह गर्न सके बिरामीहरुलाई सहज हुने बताए । उनले भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाएकोमा तिलगंगा आँखा अस्पताललाई धन्यवादज्ञापन गर्दै अस्पतालका सेवा सुविधाहरु समयसापेक्ष ढंगले स्तरवृद्धि गर्दै लानुपर्ने सुझाव दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सहज सेवाको लागि तिलगंगा र हेटौँडा आँखा अस्पतालको तुलनामा सस्तो शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप–तिलगंगा आँखा अस्पताल सञ्चालन गरिएको जानकारी दिए । १८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधासम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरवासीका लागि गौरवको विषय भएको बताउँदै उनले ख्वप–तिलगंगा आँखा अस्पतालले विद्यालयहरुमा आँखा शिविर, टोलटोलमा आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको बताए ।

त्यस्तै नगरपालिकाका उप–प्रमुख रजनी जोशीले भक्तपुर नपाले जनताको सेवा र सुविधाको लागि समाजवाद उन्मुख गतिविधि गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताइन् ।
तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताए ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधालाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताए ।
कार्यक्रममा ख्वप–तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदीप राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरे भने ख्वप-तिलगंगा आँखा अस्पतालका इन्चार्ज डा. धीरज अधिकारीले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गरे भने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहजीकरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर