कालीकोटमा महिलावर्ग मलामीमा, युवा विदेश पलायन !!

काठमाडौं । कालीकोट जिल्लाको रास्कोट नगरपालिका– ६ मा पुरुष जवानको अभाव हुँदा महिलावर्ग मलामीमा गएका छन् । सुन्दा वा पढ्दा पत्याउन सकिन्न होला तर वास्तविक घटना यही हो । गाउँमा युवा खोजे पाइँदैन् । बढ्दो बेरोजगारीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै व्यक्तिको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन् । गत बिहीबार धोचे दर्जीकी ६५ वर्षीया पत्नी नौरता दर्जीको निधन भयो र गाउँमा पुरुष नभएका कारण नौरताको अन्त्येष्टिका लागि महिला मलामी गए । गाउँमा रोजगारी नभएका कारण युवादेखि वयस्क उमेरसम्मका पुरुष गाउँभन्दा बाहिर छन् ।

वडा नं ६ का महेश फर्सालले गाउँमा पुरुष नहुँदा अन्य उमेर समूहका नागरिकले सास्ती झेल्नुपरेको बताए । उनले भने, “गाउँमा पुरुषको नाममा ७० वर्ष पार गरेका वृद्ध मात्र छन् । उहाँहरु मलामी जान सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले गर्दा महिला नै मलामी जानुपर्ने बाध्यता आइपरेको छ ।” फर्सालले भने, ‘‘सङ्घीय संरचनाभन्दा अगाडि गाउँमा रोजगारी थियो । गोरेटो बाटो निर्माण गर्दा होस् वा कुलो निर्माण गर्दा गाउँमा काम पाइन्थ्यो । गाउँमा रोजगारी थियो । तर अहिले सडक निर्माण गर्दा, भवन निर्माण गर्दा डोजरले मात्र काम पाउँछ । अर्कोतर्फ पक्की संरचना निर्माण गर्दा गाउँका युवासँग सीप नहुँदा यस्तो समस्या परेको हो ।’’

वडा नं ६ का बसराज बमले भने, “गाउँमा हुने भनेका औंलामा गन्ती गर्ने शिक्षक, अनि विद्यालय जाने १६ वर्षमुनिका किशोर मात्र हुन् । बालबालिकाले फेरि मलामी जानु हुँदैन भन्ने संस्कार भएकाले उनीहरु मलामीमा सहभागी हुने कुरा भएन, त्यसैले पनि महिला जानुको विकल्प नभएको हो ।”  यस्तै, रास्कोट वडा नं २ का खेमराज फडेराले भने, “मलामी मात्र होइन गाउँमा कोही बिरामी हुँदासमेत महिलाले स्ट्रेचर बोक्नुपरेको र यो समस्या रास्कोट मात्र नभएर प्रायः जिल्ला भरीको समस्या हो ।” जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ का रमेशकुमार सोनीले आफ्नो गाउँमा कहिलेकाहीँ सामूहिक कामका लागि खबर गर्दा महिला मात्र सहभागी हुने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर