अर्थतन्त्रको अवस्था सुधार्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज आइतबार आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा. भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए । उनले भने, “अर्थतन्त्रको अवस्था सुधार्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।”

अहिलेको व्यवस्थामा ६–६ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उनको भनाइ छ । “सरकार ६–६ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद् हुनेगरी सुधार आवश्यक छ”, डा. भट्टराईको भनाइ थियो । यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जन लोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर