मेयर बालेनको गुनासो गर्न कवाडी व्यवसायी प्रधानमन्त्रीसमक्ष पुगे

काठमाडौं । कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाले आफूहरुको व्यवसायमा अवरोध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष गुनासो गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउने उद्देश्यले महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकाले व्यवसाय धरापमा परेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

महानगरपालिकाले व्यावसायिक फर्मको दर्ता एवं नवीकरणसमेत नगरेको उनीहरुको गुनासो रहेको छ । सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनू भनी उच्च अदालतबाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको अवस्थामा अझै महानगरपालिकाले दुःख दिइरहेको उनीहरुको भनाइ रहेको छ । प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाए । अदालतको आदेशविपरीत कोहीपनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। कवाड व्यवसायीहरूसँगै माओवादी नेता मातृकाप्रुाद यादव साथ गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर