९८ लाख रुपैयाँसहित दुईजना अभियुक्त सार्वजनिक

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरी आज शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रूपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।”

प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख रुपैयाँ तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरेको जानकारी दिइयो । पक्राउ परेका २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अवैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए । पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर