चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा बाघ मृत भेटिए

काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका क्षेत्रमा छ वटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उनले बताए ।

नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन् । पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर