घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । पेट्रोलियम पदार्थमध्ये डिजेल, एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विद्युतीय सवारीको प्रयोगसँगै विकासनिर्माणका काम तीव्र गतिमा विस्तार नहुँदा डिजेलको खपतमा कमी आएको बताए । यस्तै विद्युतीय चुह्लो (इन्डक्सन र इन्फ्रारेड) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो । ग्यासमा भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो पर्ने हुँदा पछिल्लो समय ग्राहकहरू विद्युतीय चुह्लोतर्फ आकर्षित भएका हुन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा दुई खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर