वर्षासँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजो सोमबादेखि परेको पानीसँगै काठमाडौं उपत्यकालगायतका मुख्य शहरको वायु प्रदूषणमा कमी आएको छ । ‘एअर क्वालिटी इन्डेक्स’ को आज मंगलबारको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क १२७ रहेको छ । वायु गुणस्तर सूचकाङ्क गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । देशभर वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढेको र र्षासँगै प्रदूषण घटेको हो ।

मौसमविद्ले अझै तीन दिनसम्म राम्रो वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौं आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ ।

“बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको छ, २४ घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” उनले भने, “आज अपराह्नमा भने काठमाडौं उपत्यकामा हावाहुरी चट्याङ्सहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।”

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर