विश्व बैंकद्वारा नेपाललाई ८० मिलियन डलर ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँबराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ ।

विश्व बैंकले यसलाई वित्त विकास नीति ऋण भनेको छ । यसको उद्देश्य वित्तीय संस्थाको कामकाजमा सुधार ल्याउनु हो । यस सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरीवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।

यस्तै विशेषगरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्‍याउने गरी नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर