नेपाल र वेस्ट इण्डिज ए बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इण्डिज ए बीचको टी २० सिरिजको अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ। पाँच खेलको सिरिजको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। ४ खेल सकिँदा वेस्ट इण्डिजले ३ र नेपालले एक खेल जितेको छ।
पहिलो खेलमा सानदार जित हात पारेको नेपाल त्यसपछिका तीनै खेलमा पराजित भएको थियो। दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन्।अघिल्ला खेलहरूमा कप्तान रोहित पौडेलको बाहेक अन्य खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक हुन सकेको छैन।
दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी २० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो। नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बिदाई समेत गरिसकेको छ। अर्को महिना टी २० विश्वकप खेल्न वेस्ट इण्डिज नै जाने नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ।