परीक्षा दिएर फर्कंदै गरेकी छात्रामाथि दमकमा गोली प्रहार

काठमाडौं ।  झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते भएकी अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालका सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर घर भई हाल दमकमा डेरा गरेर बस्दै आएकी अधिकारीको पेटमा गोली लागेको छ । अस्पताल परिसरमा बाक्लो प्रहरी तैनाथ रहेको छ ।

अधिकारीको पेटमा एक राउन्ड गोली लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीको भनाइ छ । पेटमा लागेको उक्त गोली झिकिसकिएको पनि अस्पतालले जानकारी दिएको छ । गोली प्रहार गर्ने व्यक्ति गोली प्रहार गरेर फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर