५३ जिल्लाका चार सय ३६ स्थानका वनमा डढेलो

काठमाडौं । देशभर वनमा लागेको डढेलोबाट उत्पन्न समस्या निराकरण गर्न मुस्किल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानका वनमा डढेलो लागेको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिएको बताए । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन तर हावाहुरीका कारण डढेलो फैलिरहेको छ ।”

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित भएका छन् । प्राधिकरणको रेकर्ड अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोका घटना हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भने । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वनमा डढेलो लागेको थियो ।

सर्लाहीमा आगलागीबाट ६५ घर नष्ट

यसैबिच सर्लाहीको विष्णु गाउँपालिका-१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज बिहीबार दिउँसो स्थानीय शत्रुघ्न राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेको वडाध्यक्ष विकाउ ठाकुरले बताए । दिउँसो १ बजेतिरबाट सुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुण यन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर