आफू षड्यन्त्रको शिकार भएको सन्दीप लामिछानको पुकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको भन्दै ‘षड्यन्त्र’ मा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। उनले बुधबार राति फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्ध जाल बुन्नेहरूको नाम चाँडै सार्वजनिक गर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु।’ यसअघि बुधबारै उनले आफू षड्यन्त्रको शिकार भएको र सबै कुरा भगवान्को हातमा रहेको स्टाटस लेखेका थिए।
गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपले दिएको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ। अदालतले गौशाला २६ को उमेरको सक्कल प्रमाणित कागजात झिकाउने आदेश जारी गरिसकेको छ ।