सूर्यविनायक जंगलमा लागेको डढेलो चार दिनपछि नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार  पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध वारुण यन्त्र, काठमाडौं र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताइन् । उनले भनिन्, “आज बिहानसम्म कहीँ कतै धुवाँ देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताए । धुवाँले गाउँटोलमा तुवाँलो लागेजस्तै भएको र फेरि पनि आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको सापकोटाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर