अमेरिकामा आँधीबाट मृत्यु हुनेकाे संख्या २६ पुग्याे , सयौं घाइते

 अर्कान्सास । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ ।

अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् । ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् ।

शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए । अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ । राष्ट्रिय मौसम सेवाले भारी मेघगर्जन र हुरीका साथ असिनापानी पर्ने पूर्वानुमान गरेको छ । पेन्सिल्भेनिया र न्युयोर्कका केही भागसहित पूर्वोत्तर क्षेत्रमा आँधी र असिनाको जोखिम रहेको भन्दै उक्त सेवाले सचेत रहन आग्रह गरेको छ ।

अर्कान्सास राज्यका गभर्नर साराह हकाबी स्यान्डर्सले राज्यमा आपत्कालीन अवस्थाको घोषणा गर्दै राष्ट्रिय सुरक्षार्मीलाई पुनःस्थापना तथा सहयताका प्रयासमा सक्रिय हुन निर्देशन दिए । उनले राष्ट्रपति जो बाइडेनसँग आँधीले गरेको विनाशबारे छलफल गर्दै राष्ट्रपतिले आँधी प्रभावित क्षेत्रमा सङ्घीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर