तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु

काठमाडौं ।   तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गरेका छन् । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता हुनेछ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।

सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । १० सत्रमा सञ्चालन हुने सम्मेलनमा पचासभन्दा बढी वक्ता रहने वोर्डले जनाएको छ ।

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री

यसैबिच अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताए । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए । उनले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउनुहुने पाहुनाप्रति आभार व्यक्त गरे । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गरे ।

“व्यावसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ । नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ”, उनले भने । अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लागानीकर्ता, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए ।

सम्मेलन नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि सञ्जाल बिस्तार (नेटवर्किङ) गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको अर्थमन्त्री पुनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर