मौसम : तराईमा अझै पाँच दिन गर्मी चर्किने, पहाडमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम साधारणतया सफा रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

राति कोशी  प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबिच देशको तराई भू-भागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” महाशाखाले शनिबार अपराह्न जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । “ती भूभागहरूमा आगामी पाँच दिन (२०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर