कांग्रेसका नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौं ।  नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर ठहर गर्दै उक्त सजाय सुनाएको हो। यसमा घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने फैसला जिल्ला अदालतले गरेको छ।  अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीका अनुसार, सोही मुद्दामा उनका भाइ मोहम्मद महताब आलमले पनि जन्मकैदको सजाय पाएका छन्। यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सरोज भन्ने शेख सराज र बद्री सहनी पनि छन्। सहनी इँटा भट्टाका मुन्सी थिए। इँटाभट्टामै काम गर्ने मुक्ति साहले भने सफाइ पाएका छन्।

संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो। आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए। त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर