दुर्घटनापछि साँगा–बनेपा सडक खण्ड अवरुद्ध

काठमाडौं । मलामी आएका एक व्यक्तिको काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ भैसेपाटीमा बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्गअन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ ।
बा ६३ प २७२ नम्बरको मोटरसाइकलले मङ्गलबार राति करिब साढे दुई बजेको समयमा ठक्कर दिएपछि अन्दाजी ६२ वर्षीय बालकृष्ण बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बुढाथोकीका आफन्त तथा छिमेकीले बाइक चालकको पहिचान हुनुपर्ने माग राख्दै अरनिको राजमार्गअन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध गरेका हुन् । प्रहरीका अनुसार फरार बाइक चालकको खोजी भइरहेको छ ।
प्रतिक्रिया