कतारका अमिर नेपाल आउँदै, आज सार्वजनिक बिदा

काठमाडौं ।​ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपाल आउँदैछन्।​ कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ। कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन्।

थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् ।​ नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी र उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने सम्बन्धित मन्त्रालयले जनाएका छन्। कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौताबारे टुङ्गो लागिसकेको छैन। कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रले तयारी तीव्र पारेका छन्। ​कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्। कतारी राजा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर