पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युुइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६–४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै विदा भएको हो । बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो ।

लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९ औं मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेलअवधिभर नै भोगेको थियो ।  १० खेलाडीमा सिमित भएको बार्सिलोनामाथि क्रमश हावी हुँदै पीएसजीले ४० औं मिनेटमा बराबरी गोल गरेको थियो ।

ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए । ५४ औं मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अवस्थ पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए । उनै एम्बाप्पेले ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले दोस्रो लेगमा ४–१ को शानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ । बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर