रवि लामिछानेलाई बचाएर सुप्रिम सहकारी ठगी मुद्दा दायर

काठमाडौं । सुप्रिम सहकारी ठगीमा २८ जनालाई अभियुक्त बनाउँदै दायर भएको अभियोग पत्रमा गृहमन्त्री रवि लामिछानेको नाम प्रतिवादीमा छैन। तर संस्थाबाट प्रक्रिया पूरा नगरी ऋण लग्नेको सूचीमा भने उनको नाम छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार रुपन्देही जिल्ला अदालतमा गोर्खा मिडिया प्रालीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो।

अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालीको नाममा प्रक्रिया पुरा नगरी ऋण प्रवाह भएकाहरूको नाम र रकम उल्लेख छ। सो सूचीको सातौं नम्बरमा २०७७ चैत १८ गते रवि लामिछानेको नाममा रु २ करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नम्बर ०४०१०१००००५७७ मा ग्लोबल आइएमइ बैंकको भौचरमार्फत जम्मा भएको कारोबार देखिने कागजपत्र मिसिलमा संलग्न गरिएको देखिन्छ।

कैफियतमा संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको उल्लेख छ। उनको भौचर सदर सागर केसीले गरेका थिए रकम रोशनी गुरुङले जम्मा गरेकी थिइन्। सागर र रोशनी भने प्रतिवादी छन्। ऋण प्रवाह भएको समयमा रवि ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया नेटवर्क प्रबन्ध निर्देशक तथा सेयर सदस्य थिए। गोर्खा मिडिया नेटवर्कको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उप महामन्त्री विपिन आचार्यको नाममा समेत प्रक्रिया पूरा नगरी ऋण प्रवाह भएको अभियोग पत्रको विवरणमा देखिन्छ।

सो विवरण अनुसार आचार्यको नाममा एक करोड ५६ लाख कर्जा स्वीकृत भएर एक करोड ५० लाख गोर्खा मिडियाको खातामा जम्मा भएको उल्लेख छ। २०७८ पुस १२ मा कारोबार भएको देखिन्छ। त्यो बेलामा विपिन ग्यालेक्सीमै काम गर्थे। रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि उनी पनि राजनीतिमा लागेका हुन्। गोर्खाको नाममा जीवी राई, छवीलाल जोशी, कुमार रम्तेल, भूपेन्द्रबाबु राई लगायत गरेर १० करोड ९९ लाख सहकारीको बचतकर्ताहरूको रकम अनधिकृत रूपमा ग्यालेक्सी टिभीमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर