संसद अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जाना शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् ।

उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताइन् । मन्त्री शर्माले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको पनि बताइन्

मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रियासम्बन्धी व्यक्तिहरु मध्येबाट सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य, स्टेला तामाङ सदस्य रहेको सिफारिस समिति बनेको जानकारी मन्त्री शर्माले दिइन् । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिएको छ ।

सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्ति गरेको छ बताउँदै मन्त्री शर्माले सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जना शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिइन् । शाक्य एमाले कोटामा सिफारिस भएको बताइएको छ । उनी पूर्वराजदूतसमेत हुन् ।

(पूर्वराजदूत अञ्जना शाक्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर