राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, वरिष्ठ नेता बुद्धिमान तामाङमाथि आक्रमण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठीचार्जसमेत गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मङ्गलबार काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरेको सो पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । प्रहरीले पानीको फोहोरा हानेपछि राप्रपाको प्रदर्शन तितरबवतर भएको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा दिएको छ ।

यसैबीच राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । राप्रपाको आन्दोलनमा प्रहरीले राप्रपाका नेता र कार्यकर्तामाथि लाठी चार्ज गरेपछि सो पार्टीले गृहमन्त्रीको राजीनामा मागेको हो । राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनले गृहमन्त्रीले राजीनामा नदिए आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । काठमाडौंमा भइरहेको प्रदर्शनबाट शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर