सुनसरीमा स्थिति साम्य पार्न पाँचबुँदे सर्वपक्षीय सहमति

काठमाडौं । सुनसरीमा हिजो भएको दुई पक्षबीचको धार्मिक द्वन्द्वपछि समस्या मत्थर पार्नका लागि पाँचबुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिबार मध्यह्न बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

उनकाअनुसार बैठकमा घटनाको छानबिन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ । यस्तै जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने पनि सहमति भएको छ ।

हिजो शुक्रबार हरिनगर गाउँपालिकाको केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रूप लिँदा हरिनगरसहित सुनसरीका पाँचवटा गाउँपालिकामा त्यसको असर देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेर सेनासमेत परिचालन गरेको थियो । दुई पक्षबीच भएको झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर