उप-निर्वाचनका लागि उम्मेदवारको आज मनोनयन

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य इलाम-२ र प्रदेश सभा सदस्य बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ-१ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगका अनुसार ती दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।

आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ । उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

त्यसैगरी चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ ।

देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर