कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थाले

काठमाडौं । कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती संक्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । “मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्”, उनले भने, “तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।” डा. बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए । “भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन”, उनले भने, “तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर