केयूद्वारा ग्रीन हाइड्रोजन रिफ्युलिङ सेन्टरको सफल परीक्षण

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा सफलता हासिल गरेको छ । केयूले आइतबार हाइड्रोजन कारको लागि आवश्यक पर्ने रिफ्युलिङ सेन्टरको सफल परीक्षण गरेको छ ।

विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख एसोसियट प्राध्यापक डा. विराजसिंह थापाले विश्वविद्यालयले दुई वर्षदेखि अघि सारेको नेपालमा हाइड्रोजन उत्पादन गर्ने लक्ष्य सफल भएको बताए । उनले विश्वविद्यालयले आइतबार हाइड्रोजन रिफ्युलिङ सेन्टरबाट हाइड्रोजन उत्पादन गर्ने काम सुरु गरेको जानकारी दिए । उनले रिफ्युलिङ सेन्टरबाट उत्पादित हाइड्रोजनलाई विश्वविद्यालयमा ल्याइएको हाइड्रोजन कारमा भर्ने कामसमेत सफलतापस्र्व सुरु गरिएको पनि बताए ।

“नेपाल आयल निगमको पाँच करोड रुपैयाँ सहयोगमा हामीले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यता र यसको प्रयोगको विषयमा अध्ययन, अनुसन्धान गरेका हौँ”, प्राडा थापाले भने । उनले निगमसँग दुई वर्षअघि भएको सम्झौताअनुसार नेपालमा हाइड्रोजन कार भित्र्याउने र रिफ्युलिङ सेन्टर स्थापना गरिएको बताए । उनले केयूले अध्ययन, अनुसन्धानका लागि हाइड्रोजनको उत्पादन गरेसँगै नेपालको पानी र बिजुलीबाट नेपालमा हाइड्रोजन उत्पादन गरी सोबाट सवारीसाधन चलाउन सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे । उनले हाइड्रोजनको उत्पादन र प्रयोगले नेपालमा हुने डिजेललगायतका पेट्रोलयम पदार्थलाई विस्थापित गर्न मद्दत गर्ने बताए ।

केयूले सञ्चालनमा ल्याएको हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औषत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ । विश्वव्यापी रुपमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न औषत पाँच अमेरिकी डलर खर्च हुने तथ्याङ्कले देखाएको छ । केयूमा स्थापित हाइड्रोजन स्टेशनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ युनिट बिजुली खर्च हुने थापाको भनाइ छ ।

उनले केयूमा रहेको हाइड्रोजन कारको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तथा हाइड्रोजन उत्पादन र प्रयोगको विषयमा सन्देश फैलाउन उक्त कारलाई देशका विभिन्न जिल्लामा लगेर प्रर्दशन गर्ने योजना भएको सुनाए । निगमबाट प्राप्त गरेको सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलर खर्च गरेर हुण्डाईको निक्सो हाइड्रोजन कार तथा एक करोड तीस लाख रुपैयाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरिएको हो ।

हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर