बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटबिच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबिच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सरपीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताए ।

समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।

हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर