बङ्गलादेशका पारवहनमन्त्री स्थलमार्ग हुँदै नेपाल भ्रमणमा

काठमाडौं । बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौंमा शनिबारदेखि आयोजना हुने नेपाल र बङ्गलादेशबिच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।

सो अवसरमा उनले सुक्खा बन्दरगाहको अवलोकन गरे । मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बङ्गलादेशबिचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएको थियो ।

कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भुटानी नागरिकबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन । चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बङ्गलादेशी उच्चस्तरीय पाहुना हुन् । मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौंस्थित बङ्गलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायतले स्वागत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर