भक्तपुरको सल्लाघारीमा चैत २२ देखि वैशाख २ गतेसम्म पर्यटन तथा व्यापार मेलाको आयोजना गरिने

भक्तपुर । नयाँ वर्ष २०८१ को आगमनसँगै भक्तपुरमा आठौं औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८०–०८१ को आयोजना गरिने भएको छ । महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको संयुक्त आयोजनामा आगामी चैत २२ गते बिहीबारदेखि वैशाख २ गते आइतबारसम्म सल्लाघारीस्थित १०८ रोपनी चउरमा हुन लागेको छ ।
महोत्सवमा दुईसयभन्दा बढी स्टल रहने आयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थापाले बताए ।
यसको साथै महोत्सवमा औद्योगिक उत्पादन प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधि प्रदर्शनी, प्रविधि गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी र घरेलु भाँडाकुँडाको प्रदर्शनी स्टल पनि राखिने भएको छ । महोत्सव एवं मेलामा एसियाकै उत्कृष्ट बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, महोत्सव अवधिभर प्रख्यात कलाकारहरूको सांगीतिक प्रस्तुती, रोटे पिङ, रेन्जर, मारुती सर्कस, फेशन र्‍याम्प, नृत्य प्रतियोगिता, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, हास्यव्यङ्य गीतगायनलगायत अन्य मनोरञ्जनका प्रस्तुतीहरू समावेश गरिने भएको छ ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अध्यक्ष सन्दीप महतले पत्रकार सम्मेलनमा बताए । महोत्सवलाई व्यवस्थित पार्न विद्यार्थीलाई ५० र अन्यलाई ७० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । साथै महोत्सवमा ज्येष्ठ नागरिक र अपांगताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । आयोजकका अनुसार मेलामा करिब पाँच लाख अवलोकनकर्ता एवं उपभोक्ताको आगमन हुने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवका संयोजक थापाका अनुसार, महोत्सवकै अवधि वैशाख ३ गते ख्यातिप्राप्त गायक, गायिकाको बेजोड सांगीतिक प्रस्तुतीको आयोजना गरिने र त्यसका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
आयोजक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै मेडल प्राप्त गरेका भक्तपुर जिल्लाका खेलाडीहरूलाई विशेष सम्मान गर्ने भएको छ । यस्तै संस्थाले विपन्न परिवारका मिर्गौला, क्यान्सर, मुटु रोगका बिरामीलाई सम्बन्धित नगरपालिका वा सरकारी निकायको सिफारिसमा सहयोग उपलब्ध गराउँदै आएको संयोजक थापाले जानकारी दिए । आयोजक संस्थाले यसभन्दा अघि भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सातौंपटकसम्म आयोजना गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर