रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले उक्त आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

“हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण मनाउन हामी तयार छौँ ।” नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गरे ।

जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाए । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याए । राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर