गोली हानाहानकाबिच दुई भारतीय मोस्ट वान्टेड अपराधकर्मी पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वाण्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बरहथवा नगरपालिका–६, मगर टोलबाट एक थान अमेरिकन पेस्तोल र ६ राउण्ड गोलीसहित भारतको सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्निकुमार सिंह र मोतिहारी गङ्गापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । उनीहरु दुवै भारतीय प्रहरीको ‘मस्ट वाण्टेड अपराधी’ को सूचीमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सन्निकुमार र जितेन्द्रको बरहथवास्थित कोठामा सोमबार राति पौने ९ बजेतिर प्रहरी पुगेर खानतलासी लिन खोज्दा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर घेरा हालेर दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

घटनास्थलबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ राउण्ड गोली र फायर भएको गोलीको एक थान खोका बरामद भएको प्रहरीले जनाएको छ । दुवैलाई पक्राउ गरी सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा बसबरिया गाउँपालिका–६, पोखरियाबाट जितेन्द्रकुमार प्रहरीको नियन्त्रणमा भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई पाँच राउण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी र्दिए । जितेन्द्रको बाँया घुँडा र दाहिने तीघ्रामा दुई राउण्ड गोली लागेको छ ।

घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात जनकपुर रेफर गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका सन्निकुमार सिंहलाई भने मङ्गलबार बिहान पत्रकार सम्मेलन गरी बरामद पेस्तोल र गोलीसहित सार्वजनिक गरिएको छ । जितेन्द्रलाई नियन्त्रणमा लिनेक्रममा प्रहरी जवान रमेश विक र प्रहरी जवान दीपेश चौहान घाइते हुनुभएको छ । घाइते दुवै जवानको अवस्था सामान्य रहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

नरेन्द्र र सन्निकुमार भारतमा दुईवटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र एउटा लागूऔषध मुद्दामा फरार अपराधी रहेको प्रहरीले जनाएको छ । नेपाली भूमिमा समेत उनिहरुले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रुपमा समेत आएको हुनसक्ने आशङ्कासहित सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर