प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक पेस हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सो विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

सरकारले गत फागुन २१ गते संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको थियो । विधेयकमा सरकारी कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव गरिएको छ । यस्तै निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । निजामती कर्मचारीहरु राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने, सरकारको आलोचना गर्न नपाउने, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशन गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउनेलगायत प्रतिबन्धात्मक व्यवस्था पनि विधेयकमा गरिएको छ ।

यसैगरी आजको बैठकमा सामान्य प्रशासनमन्त्री जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रि–बजेट छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने संघीय संसद सचिवालयले जनाएको छ । गत फागुन १४ गते बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको थियो । त्यसपछि फागुन २१ गतेदेखि दलीय आधारमा छलफलको कार्यसूची तय गरिएपनि त्यसैदिन सत्ता समीकरण बदलिएसँगै यो विषय ओझेलमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर