सुन महँगिएसँगै बजारमा खपतमा कमी

काठमाडौं । आज नेपाली सुन बजारमा सुनको भाउ स्थिर रहेको छ । हिजो सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । आज हिजोकै भाउमा सुन किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा उच्च मूल्यवृद्धि भएयता सुनको खपत पनि घटिरहेको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएदेखि नै माग घटेको बताए । अन्तर्राष्ट्रिय बजारमा भने १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ । अब यो मूल्य बढेर २२ सय डलर पुग्ने अनुमान गरिएको छ ।
सुनको मूल्यवृद्धि हुनुमा अमेरिकासहित शक्तिशाली मुलुकहरूको ब्याजदर र स्टक मार्केट घटबढ, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकहरूको अर्थतन्त्रको गति र अन्तर्राष्ट्रिय द्वन्द्वआदि जिम्मेवार छन् । नेपाली सुनचाँदी व्यवसायीहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिनको ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झन्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ । अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर